खै, के लेखौं हजुरको बारेमा? कलममा मसिको खोलै बगाएँ भने पनि कम पर्छ। शब्दहरूले नै गुनासो गर्छन्—"यस्ले त अब हाम्रो शब्दकोषलाई पनि पार गर्यो!" भन्न थाल्छन्। तर म जान्दछु, हजुर आफैं एउटा जीवित शब्दकोष हो, जहाँ मैले तमाम अक्षरहरू, अर्थहरू र जीवनका पाठहरू पाएको छु।
शब्दकोषका पानाहरूमा नपाइने कतिपय शब्दहरू म हजुरको मनभित्र पाएको छु, बाबा।
म बाटोमा हिँड्दा, गहिरो सोच्दा—हजुरकै याद आउँछ।
हजुरले समाएको मेरो नानी हात—आज कहाँ छन्? कुन निर्त्य गर्दैछन्?
म थाक्दा हजुरको काँध सम्झिन्छु, जहाँ संसारकै सान्त्वना भेटिन्थ्यो। तर अब त्यो काँध छैन।
फेसबुकका भित्ताहरूमा हजुरका तस्बिर टाँस्न मेरो मन सक्दैन। किनभने त्यो तस्बिरले भन्दिन्छ—"यो सम्झनामा मात्रै बाँकी छ, तर मेरो जीवनको सबैभन्दा नजिकको आधार हो।"
बाबा,
तपाईंले आफ्ना सपना मारेर, परिवारका इच्छा र चाहना पूरा गर्नुभयो।
एक गिलास पानी पाउँदा पनि खुशी मान्ने हजुरलाई देख्दा, म आफूलाई सानो ठान्छु।
घरको दुःख, चिन्ता, बोझ—सबै लुकाएर, हामीलाई मुस्कान दिन सक्ने शक्ति कहाँबाट आउँछ तपाईंसँग?
मेरो शिरमाथि हजुरको आशीर्वाद हुँदा मलाई कसैको डर लाग्दैन।
मेरो हातमा जब हजुरको हात हुन्छ, अघि बढ्ने हिम्मत दोब्बर हुन्छ।
म पनि वाचा गर्छु—तपाईंको दुःख बोकेर हिँड्ने छु।
त्यो दिन म संसारकै सबैभन्दा खुसी हुने छु, जब मेरो मिहिनेतले हजुरको सपना पूरा हुनेछ।
र, तपाईंको मुखबाट "स्याबास छोराले" भन्ने आवाज सुन्नेछु।
आज म सायद केही गर्न सक्दिनँ। तर त्यो दिन आउनेछ—
जब मेरो कमाइले तपाईंको दुई छाक सजिलै पूरा हुनेछ।
जब मेरो सेवा र ख्यालले तपाईंको रोग बिस्तारै हराउनेछ।
त्यो दिन तपाईंको आँखामा देखिने सन्तुष्टिको उज्यालो—
मेरो जीवनको सबैभन्दा ठूलो पुरस्कार हुनेछ।
बाबा, तपाईं मेरो शब्दकोष मात्र होइन, मेरो जी
वनको सम्पूर्ण अर्थ हुनुहुन्छ।