निद्रामा बाधा नपरोस्: प्रधानमन्त्रीको चुपचाप सम्मान
प्रधानमन्त्री बैठक हलमा प्रवेश गर्दा सञ्चारमन्त्री उठेनन्, उठाउने प्रयास असफल भयो।
प्रधानमन्त्रीले हल्का मुस्कानसहित ‘सुत्न दिनुस्’ भन्ने टिप्पणी गर्दै अघि बढे।
काठमाडौँ। संसद बैठकमा गम्भीर छलफल चलिरहँदा मन्त्रीहरू निदाउने प्रचलन हट्न सकेको छैन। मोबाइल चलाउने, आपसमा गफिने वा निदाउने सांसदहरूको गतिविधि संसद बैठकको नियमित दृश्यजस्तै हुन थालेको छ।
बुधबारको प्रतिनिधि सभा बैठकमा पनि यस्तै एउटा लाजमर्दो क्षण देखियो। बैठकको शून्य समयमा प्रधानमन्त्री केपी शर्मा ओली सभा हलमा प्रवेश गर्दा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ गहिरो निन्द्रामा थिए।
सामान्यतः प्रधानमन्त्री हलमा प्रवेश गर्दा मन्त्रीहरू उठेर अभिवादन गर्छन्। तर सञ्चारमन्त्री भने कुर्सीमै टाउको टेकेर निदाइरहेका थिए। उनको ठीक पछाडि बसेका रक्षा मन्त्री मानवीर राईले उनलाई उठाउने कोसिस गरे पनि मन्त्री गुरुङ बेखबर नै रहे।
यो दृश्य देखेपछि प्रधानमन्त्री ओलीले थोरै मुस्काउँदै भने – "सुत्न दिनुस्", अनि आफनो सिटतर्फ अघि बढे। यति भनेपछि हलमा केही सांसदहरूको मुखमा मुस्कान देखियो भने केही पत्रकारहरूले मोबाइलमा भिडियो कैद गर्न भ्याए।
Tags:
News

